रुसी ड्रोन रोमानियाको आवासीय भवनमा खस्यो, दुई जना घाइते


काठमाडौं- युक्रेनमाथि रुसले गरेको रातभरको आक्रमणसँग सम्बन्धित एक ड्रोन नेटो सदस्य राष्ट्र रोमानियाको पूर्वी क्षेत्रमा रहेको आवासीय भवनमा खस्दा दुई जना घाइते भएका छन्। घटनापछि रोमानियाले नेटोसँग थप एन्टी–ड्रोन सुरक्षा क्षमता तत्काल उपलब्ध गराउन आग्रह गरेको छ।

रोमानियाको रक्षा मन्त्रालयका अनुसार उक्त ड्रोनलाई देशको हवाई क्षेत्रमा प्रवेश गरेपछि राडारमार्फत निगरानी गरिएको थियो। त्यसपछि ड्रोन पूर्वी सहर गलाटीस्थित एक अपार्टमेन्ट भवनको छतमा खसेर आगलागी भएको थियो। घटनामा दुई जना सामान्य घाइते भएका छन् भने भवनका धेरै बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

डेन्यूब नदी किनारमा रहेको गलाटी सहर मोल्दोभा र युक्रेनको सीमाक्षेत्र नजिक पर्छ। घटनापछि प्रहरी, आपत्कालीन सेवा र अन्य सम्बन्धित निकाय तत्काल परिचालित भएका थिए। रोमानियाली सेनाले दुई वटा एफ–१६ लडाकु विमान र एउटा हेलिकप्टर परिचालनको अनुमति दिएको थियो भने स्थानीय बासिन्दालाई सतर्कता सन्देशसमेत पठाइएको थियो।

रोमानियाको विदेश मन्त्रालयले घटनालाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घनको संज्ञा दिएको छ। मन्त्रालयले नेटोसँग गठबन्धनको हवाई सुरक्षा प्रणाली थप सुदृढ बनाउन तथा एन्टी–ड्रोन प्रणालीको शीघ्र आपूर्तिका लागि आग्रह गरेको छ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले यो घटनाले ‘रुसको युद्धले अर्को सीमा पार गरेको’ संकेत गरेको बताएकी छन्। उनले युरोपेली भूभागको घना बस्ती भएको क्षेत्रमा रुसी ड्रोन खस्दा सर्वसाधारण घाइते भएको उल्लेख गर्दै युरोपेली सङ्घ (इयु) ले पूर्वी सीमाको सुरक्षा थप मजबुत बनाउने र रुसविरुद्ध नयाँ प्रतिबन्ध प्याकेजको तयारी गरिरहेको जानकारी दिइन्।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशलाई थप ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन अमेरिकामाथि दबाब बढाइरहेको बताएका छन्। स्विडेन भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले इरानसँग सम्बन्धित क्षेत्रीय तनावका कारण अमेरिकी हतियार भण्डार अन्य क्षेत्रमा केन्द्रित हुँदा युक्रेनका लागि आवश्यक सैन्य सामग्रीको आपूर्ति खतरनाक रूपमा घट्दै गएको चेतावनी दिएका हुन्।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि युद्धको तीव्रता नियन्त्रणबाहिर जाने जोखिम बढिरहेको भन्दै सुरक्षा परिषद्लाई सचेत गराएका छन्। उनका अनुसार यस वर्षको पहिलो चार महिनामा विगत तीन वर्षको सोही अवधिको तुलनामा बढी सर्वसाधारणको ज्यान गएको छ। उनले तनाव तत्काल कम गर्न, कूटनीतिक पहललाई तीव्र बनाउन तथा पूर्ण र बिना शर्त युद्धविराम लागू गर्न सम्बन्धित पक्षलाई आह्वान गरेका छन्।

प्रतिक्रिया