
मनसुनअघि नै पोखरामा भासिन थाल्यो जमिन
पोखरा – मनसुन सुरु हुनुअघि नै पोखराका विभिन्न क्षेत्रमा जमिन भासिने क्रम देखिन थालेको छ। शुक्रबार बिहान पोखरा महानगरपालिका–३ नदीपुर क्षेत्रमा जमिन भासिँदा सडकसँगै एक घरको आँगन तथा घरको केही भाग प्रभावित भएको छ।
स्थानीयका अनुसार शुक्रबार बिहान करिब २ बजेतिर अचानक जमिन भासिएर करिब १० मिटर गहिरो तथा चौडा भ्वाङ परेको हो। घटनासँगै उक्त क्षेत्रमा पोखराका लागि खानेपानी वितरण गर्न बिछ्याइएको पाइपसमेत फुटेको छ, जसका कारण थप जोखिम बढेको स्थानीयको भनाइ छ।
नदीपुर क्षेत्रमा यसअघि पनि पटक–पटक जमिन भासिने घटना दोहोरिँदै आएको छ। पछिल्लो घटनापछि स्थानीयवासी थप चिन्तित बनेका छन्। उनीहरूले सम्बन्धित निकायलाई दीर्घकालीन समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन्।
घटनास्थलको अवलोकन गर्दै कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जमिन भासिएको क्षेत्रमा थप क्षति हुन सक्ने तथा विपद्को जोखिम बढ्न सक्ने बताइन्। उनले प्राविधिकहरूको राय तथा सुझावका आधारमा आवश्यक सुरक्षा उपाय अपनाउन र प्रभावित क्षेत्रलाई सुरक्षित बनाउन सम्बन्धित वडाका जनप्रतिनिधिहरूलाई निर्देशन तथा सुझाव दिएकी छन्।
प्रशासनले प्रभावित क्षेत्रको निगरानी बढाउनुका साथै थप क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ।



कागजपत्र |
