
आइपीएलः फाइनल प्रवेशका लागि आज गुजरात र राजस्थान भिड्दै
काठमाडाैं – आइपीएल २०२६को दोस्रो क्वालिफायरमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्स आमनेसामने हुँदैछन्।
मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेदेखि सुरु हुनेछ। आजको विजेता टोली फाइनल प्रवेश गर्नेछ भने हार्ने टोली तेस्रो स्थानमा रहँदै बाहिरिनेछ।
आज सबैको नजर राजस्थानका १५ वर्षीय वैभव सूर्यवंशीमा हुनेछ। उनले एलिमिनेटरमा हैदराबादविरुद्ध २९ बलमा १२ छक्का प्रहार गर्दै ९७ रन बनाएका थिए।
अर्कोतर्फ, गुजरातले कागिसो रबाडा, मोहम्मद सिराज, जेसन होल्डर, प्रसिद्ध कृष्ण र रशिद खान जस्ता खेलाडीहरू समावेश गर्दै सिजनको आफ्नो सबैभन्दा बलियो बलिङ आक्रमण गर्नेछ।
वैभवले गुजरातविरुद्ध तीन खेल खेलेका छन्, जसमा २३३.३३ को स्ट्राइक रेटमा १६८ रन बनाएका छन्। यसमा एक शतक पनि समावेश छ। सो क्रममा उनले १५ चौका र १५ छक्का प्रहार गरेका छन्।
हेड–टू–हेड रेकर्डमा गुजरात माथि छ। दुई टोलीबीच अहिलेसम्म १० खेल खेलिएका छन्। जसमध्ये गुजरातले सात जितेको छ भने राजस्थानले तीन जितेको छ। यस सिजनमा गुजरातले अन्तिम खेल ७७ रनले जितेको थियो भने त्यसअघि राजस्थानले छ विकेटले जितेको थियो।
राजस्थान रोयल्स वैभव सूर्यवंशी र जोफ्रा आर्चरमा निर्भर छ। एलिमिनेटरमा टोलीको जितमा दुवै खेलाडीले महत्त्वपूर्ण भूमिका खेलेका थिए। वैभव ६८० रनका साथ यस सिजनको सर्वाधिक रन स्कोरर हुन् भने आर्चर २४ विकेटका साथ टोलीका सर्वाधिक विकेट लिने खेलाडी हुन्।
गुजरात टाइटन्सको ब्याटिङमा साई सुदर्शनले ६५२ रन, शुभमन गिलले ६१८ रन र जोस बटलर ४९८ रन बनाएका छन्। बलरमा कागिसो रबाडाले २६ विकेट लिएका छन्।



कागजपत्र |
