भाेलि देशभरका भन्सार कार्यालय बन्द रहने


काठमाडौं-  आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुने दिन भन्सार जाँचपास सेवा स्थगित गर्ने निर्णय गरिएको छ ।

भन्सार विभागले १५ जेठ (शुक्रबार) देशभरका सबै भन्सार कार्यालयहरू बन्द गर्न सर्कुलर जारी गरेको हो । सो दिन यात्रु जाँचपासबाहेक अन्य सबै मालवस्तुको भन्सार जाँचपास कार्य रोक्ने निर्णय गरिएको विभागले जनाएको छ ।

अर्थमन्त्रीले सोही दिन संघीय संसदमा बजेट प्रस्तुत गर्ने भएकाले कर प्रणाली र दररेट परिवर्तनको प्रभाव व्यवस्थापन गर्न सेवा स्थगित गरिएको विभागको भनाइ छ ।

विभागले १६ जेठदेखि जाँचपास गर्दा आर्थिक विधेयक, २०८३ अनुसार ASYCUDA प्रणाली अद्यावधिक भए/नभएको सुनिश्चित गरेर मात्र प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

त्यसैगरी १४ जेठसम्म दर्ता भएका प्रज्ञापनपत्र सोही दिनभित्र जाँचपास गर्नुपर्ने, बाँकी प्रज्ञापनपत्रमा दररेट परिवर्तन भए सोहीअनुसार महसुल असुल गरी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पुराना घोषणा भएका तर जाँचपास हुन बाँकी वस्तुको हकमा पनि परिवर्तन भएको कर दर अनुसार शुल्क असुल गरी मात्र जाँचपास गर्न विभागले निर्देशन दिएको छ ।

प्रतिक्रिया