एमालेको अन्तरघातले कर्णालीमा महेन्द्रबहादुर शाहीको सरकार जोगियो


काठमाडौं – कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही नै रहने निश्चित भएको छ। विश्वासको मत लिन राखेको प्रस्तावमा शाहीले २२ मत प्राप्त गरेका छन्।

३९ प्रदेशसभा सदस्य रहेको कर्णालीमा मुख्यमन्त्रीको लागि २० मत आवश्यक थियो। नेकपा एमालेका ४ जना सांसदले फ्लोर क्रस गरेसँगै शाहीले नेपाली काँग्रेसको समर्थनमा २२ मत प्राप्त गरेका हुन्।

प्रस्ताव उपर सांसदहरुले बोल्ने र मुख्यमन्त्री शाहीले जवाफ दिने क्रम सकिएपछि सभामुखले विश्वासको मतका लागि प्रदेशसभा नियमावली अनुसार मत विभाजन गराएका थिए। मत विभाजनका क्रममा एमालेका चारजना सांसदहरुले फ्लोर क्रस गरेका छन्।

एमालेका माधव कुमार नेपाल पक्षका सांसद प्रकाश ज्वालासहित ४ जना सांसदहरु फ्लोर क्रस गरेसँगै शाही नै मुख्यमन्त्री रहेको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जानकारी गराएका छन्। सुरुमा फ्लोर क्रस गरेका सांसद देवी वलीले पछि आएर आफ्नो मत सच्चाएका छन्।

कर्णाली प्रदेशसभामा एमालेको सभामुखबाहेक १९, माओवादीको १२ र कांग्रेसको ६ सांसद थिए।

प्रतिक्रिया