गोरखा मिडियालाई महानगरको १५ दिने अल्टिमेटम, भाडा तिरेर टिभीका सामग्री उठाउनू


काठमाडौं – काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.का नाममा १५ दिने सार्वजनिक सूचना जारी गरी ग्यालेक्सी फोके टेलिभिजनसँग सम्बन्धित सामान तत्काल उठाउन आग्रह गरेको छ।

काठमाडौं महानगरपालिका–३ निवासी मृगेन्द्रप्रसाद मिश्रसमेत वादी र गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई प्रतिवादी रहेको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’सम्बन्धी मुद्दामा महानगरको न्यायिक समितिले १४ कात्तिक २०८१ मा वादीको पक्षमा फैसला गरेको थियो।

निर्णयअनुसार प्रतिवादीबाट घर बहाल रकम तथा बहाल कर असुल गरी घरजग्गा खाली गराउन आदेश दिइएको थियो । त्यसपछि २८ साउन २०८२ मा उच्च अदालत पाटनले दुई महिनाभित्र निर्णय कार्यान्वयन गर्न काठमाडौं महानगरपालिकाका नाममा परमादेश जारी गरेको थियो।

अदालतको आदेशपछि १४ कात्तिक २०८२ मा महानगरपालिकाको टोली खटिएर निर्णय कार्यान्वयन गरिएको जनाइएको छ।

महानगरका अनुसार निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भएपछि वादी मृगेन्द्र मिश्रले २१ वैशाख २०८३ मा ग्यालेक्सी फोकेमा रहेका सामान लिलाम गरिपाऊँ भन्दै निवेदन दिएका थिए। त्यसै आधारमा महानगरले सार्वजनिक सूचना जारी गरेको हो।

सूचनामा १५ दिनभित्र बाँकी बहाल रकम बुझाई आफ्नो सरसामान लगी घर खाली गर्न अन्तिम अवसर दिइएको उल्लेख छ। तोकिएको अवधिभित्र सामान नलगिएमा काठमाडौं महानगरपालिका न्यायिक समिति को कार्यविधिअनुसार सामान लिलाम गरिने चेतावनीसमेत दिइएको छ।

May be an image of map and text

प्रतिक्रिया