बाजुरा–हुम्ला सीमा विवाद अध्ययन गर्न प्राविधिक समिति गठन


काठमाडौं – सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलको संयोजकत्वमा समिति गठन गरेको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट एक–एक जना प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ ।

त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ ।

बैठकमा भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेल, प्रधानमन्त्री कार्यालयका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल, गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले तथा अन्य सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी नापी विभागका महानिर्देशक प्रकाश जोशी, भूमि व्यवस्था मन्त्रालयका उपसचिव भीम बुढा, नापी विभागका निर्देशक दयानन्द जोशी र नापी अधिकृत ज्योति ढकाल पनि बैठकमा सहभागी थिए ।

प्रतिक्रिया