
धादिङमा ढुंगा खसेर टिपर चालकको घटनास्थलमै मृत्यु
काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–७ राम्चेमा सञ्चालित ढुंगा खानीमा शनिबार भएको दर्दनाक दुर्घटनामा टिपर चालकको घटनास्थलमै मृत्यु भएको छ।
ढुंगा खानीमा कामका लागि पुगेका सोही गाउँपालिका निवासी ३२ वर्षीय दीपेन्द्र खत्रीको माथिबाट खसेको ठुलो ढुंगाले टिपरलाई किच्दा ज्यान गएको धादिङका प्रहरी प्रमुख (एसपी) सुमित खड्काले बताएका छन्।
काठमाडौं महानगरपालिका–५ बस्ने हर्कबहादुर तामाङले सञ्चालन गरेको बज्रकाली रोडा ढुंगा उद्योगमा ढुंगा लोड गर्नका लागि चालक खत्री बा.५ ख ८५८० नम्बरको टिपर लिएर खानी क्षेत्रमा पुगेका थिए।
खानी क्षेत्रमा प्रवेश गरेलगत्तै माथिल्लो भागबाट अचानक ठुलो ढुंगा खसेर टिपरमा ठोक्किँदा चालक खत्री गम्भीर रूपमा किचिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्थानीय बासिन्दाले खानी सञ्चालकको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै मृतकको शव घटनास्थलबाट उठाउन अवरोध गरेका छन्। उनीहरूले खानीमा सुरक्षा मापदण्ड पालना नगरिएको भन्दै विरोध जनाइरहेका छन्।
स्थानीयको अवरोधका कारण शव अझै घटनास्थलमै रहेको र घटनाबारे इलाका प्रहरी कार्यालय खानीखोला मार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
