
कास्की अदालतले रविमाथिको दुई अभियोग हटायो
काठमाडौं – कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्ने निर्णयलाई सदर गरेको छ ।
तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीको स्वीकृतिपछि जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध लगाइएका दुई कसुर फिर्ता लिने र सहकारी ठगीसम्बन्धी अभियोग भने यथावत राख्ने मागसहित अदालतमा निवेदन दिएको थियो ।
उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश हिमलाल बेलबासेको इजलासले सुनुवाइ गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग कायम नरहने निर्णयलाई अनुमोदन गरेको हो ।
अदालतको आदेशमा निवेदकको माग मनासिब देखिएको उल्लेख गर्दै सहकारी ठगीसम्बन्धी अभियोग भने कायम रहने गरी अभियोगपत्र संशोधन गरिएको जनाइएको छ ।
आदेशमा भनिएको छ, “सहकारी ठगीको अभियोग दाबी कायम राखी अन्य संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग दाबी कायम नरहने गरी संशोधन गरिएको छ।”
यससँगै अब रवि लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दामात्र अघि बढ्ने भएको छ ।



कागजपत्र |
