चार वस्तुको आयात कोटा हटाइयो


काठमाडौं – केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिचको आयातमा लगाइएको कोटा वितरण प्रणाली स्थगन भएको छ । कोटाभन्दा तीन गुणासम्म माग आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिले कोटा वितरण प्रणाली स्थगित गरेकोे हो ।

सरकारले गत चैत ९ मा केराउ, मरिच, छोकडा र सुपारी आयातमा परिमाणात्मक बन्देज लगाएको थियो । चालू आर्थिक वर्ष २०७७/७८ का लागि केराउ ८० हजार, सुपारी २५ हजार, छोकडा ५ हजार र नधुल्याएको मरिच १५ हजार मेट्रिकटन आयात गर्न सकिने गरी सरकारले प्रतिबन्ध हटाएको थियो ।

कोटा प्रणाली लागू भएपछि विभागमा आएका आवेदनको समीक्षा गर्न तत्काल उक्त प्रणाली स्थगित गरिएकोे विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । उनका अनुसार विभागले स्थायी रुपमा कोटा प्रणाली बन्द भने गरेको छैन । कोटो प्रणाली खुला भएपछि विभागमा सुपारी आयात गर्न २५० निवेदनबाट चार लाख ७८ हजार ८४६ मेट्रिक टन माग आएको छ । सुपारी आयातमा मागभन्दा १९ गुणा बढीले आवेदन दिएका थिए ।

यसैगरी, केराउ आयात गर्न ३०४ निवेदनबाट एक लाख ७९ हजार ३३, नधुल्याइएको मरिच आयात गर्न २०६ निवेदनबाट एक लाख ६६ हजार ३०३ र छोकडा आयात गर्न १२४ निवेदनबाट ६० हजार ८०४ मेट्रिक टन माग भएको छ । गत वर्षको चैतमा केराउ, मरिच, छोकडा, सुपारी मदिराजस्ता वस्तुको आयातमा तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले पूर्णरुपमा रोक लगाएका थिए ।

प्रतिक्रिया