एमालेले मीनबहादुर गुरूङको जग्गा फिर्ता गर्ने


काठमाडौं-  नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरूङले पार्टीलाई दिने घोषणा गरेको जग्गा फिर्ता गर्ने प्रस्ताव अघि बढाएको छ ।

सोमबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गुरूङले कलंकीमा उपलब्ध गराउने भनेको १० रोपनी १४ आना जग्गा र भवन निर्माण प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने कार्यसूची प्रस्तुत गरेका हुन् ।

व्यवसायी गुरूङले २०८१ असोजमा एमालेलाई उक्त जग्गा दान दिने तथा पार्टी कार्यालय भवन निर्माण गरिदिने घोषणा गरेका थिए । त्यसक्रममा शिलान्याससमेत गरिएको थियो । तर, उक्त निर्णयलाई लिएर पार्टीभित्र व्यापक विवाद भएको थियो ।

सचिवालय निर्णयको विरोध गरेको आरोपमा नेतृ डा. विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बनसमेत गरिएको थियो ।

पार्टी नेताहरूका अनुसार गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा भाटभटेनीमा आगजनी भएपछि व्यवसायी गुरूङ स्वयं पनि आफ्नो प्रस्तावबाट पछि हटिसकेका थिए ।

अब एमालेले उक्त जग्गा नलिई बल्खुस्थित आफ्नै जग्गामा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने तयारी थालेको छ । नयाँ भवन नबन्दासम्मका लागि भाडाको भवन खोज्ने प्रस्ताव पनि सचिवालय बैठकमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया