‘कक्रोच जनता पार्टी’को एक्स ह्यान्डल भारतमा बन्द गरिएको दाबी


काठमाडौं-  सामाजिक सञ्जालमा चर्चामा रहेको ‘कक्रोच जनता पार्टी’ अभियानका संस्थापक अभिजित दीपकेले आफ्नो अभियानको एक्स (ट्विटर) ह्यान्डल भारतमा प्रतिबन्धित गरिएको दाबी गरेका छन् ।

दीपकेले इन्स्टाग्राममार्फत भिडियो सन्देश जारी गर्दै पहिले आफ्नो अकाउन्ट ह्याक गर्ने प्रयास भएको र त्यसपछि एक्स ह्यान्डल भारतमा बन्द गरिएको बताएका हुन् ।

उनले भने, “जसको डर थियो, त्यही भयो। पहिले हाम्रो अकाउन्ट ह्याक गर्ने प्रयास गरियो। जब ह्याक गर्न सकेनन्, त्यसपछि हाम्रो ट्विटर ह्यान्डल भारतमा बन्द गरियो। एक्समा गएर हेर्दा ‘कक्रोच जनता पार्टी’को आधिकारिक ह्यान्डल भारतमा देखिँदैन।”

दीपकेले समर्थकहरूलाई यसको विरोधमा आवाज उठाउन आग्रह गर्दै आफूहरूले कुनै गैरकानुनी सामग्री पोस्ट नगरेको दाबी गरेका छन् । उनका अनुसार उनीहरूले केवल एक विद्यार्थीको आत्महत्यापछि सम्बन्धित मन्त्रीको राजीनामा मागेका थिए ।

“हामीले केही गलत लेखेका थिएनौं। हामी त केवल मन्त्रीको राजीनामा मागिरहेका थियौं। त्यसैले हाम्रो ह्यान्डल किन बन्द गरियो भन्ने प्रश्न सबैले उठाउनुपर्छ,” उनले भने ।

भारतका प्रधानन्यायाधीश सूर्यकान्तले युवाहरूलाई ‘कक्रोच’सँग तुलना गर्दै दिएको अभिव्यक्तिपछि ‘कक्रोच जनता पार्टी’ नामक सामाजिक सञ्जाल अभियान सुरु गरिएको थियो । उक्त अभिव्यक्तिपछि युवाहरूले व्यंग्यात्मक रूपमा अभियान चलाएका हुन् ।

यस अभियानको इन्स्टाग्राम ह्यान्डलमा हाल करिब १ करोड ३० लाखभन्दा बढी फलोअर्स रहेका छन् र यो संख्या निरन्तर बढिरहेको बताइएको छ ।

प्रतिक्रिया