दुर्घटनाग्रस्त जहाजको अवशेष १० दिनभित्र हटाइने


झापा- चन्द्रगढी विमानस्थलको धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको बुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ ।

चार महिनाअघि तीव्र गतिका कारण अवतरणका क्रममा उक्त दुर्घटना भएको थियो । गत पुस १८ गते राति काठमाडौँबाट आएको बुद्ध एयरको उक्त जहाज चन्द्रगढी विमानस्थलको पश्चिमी किनारको धावनमार्गबाट चिप्लिएर खोल्सीमा खसेको थियो । जहाजमा सवार चालक दलका सदस्यसहित ५१ जनामध्ये सात जना घाइते भएका थिए ।

दुर्घटनापछि जहाजको अवशेषलाई घटनास्थलमै त्रिपालले छोपेर राखिएको थियो । धावनमार्गकै छेउमा दुर्घटनाग्रस्त जहाज देखिँदा उडान भर्ने यात्रुहरूमा मनोवैज्ञानिक त्रास र असहजता बढेको भन्दै गुनासो आउने गरेको थियो ।

चन्द्रगढी विमानस्थल कार्यालयका प्रमुख किशोरकुमार खत्रीका अनुसार दुर्घटनाको प्राविधिक अनुसन्धान र बिमा कम्पनीको मूल्याङ्कन प्रक्रियाका कारण जहाजको अवशेष लामो समयसम्म घटनास्थलमै राख्नुपरेको हो ।

“दुर्घटना जाँचबुझ समिति र बिमा कम्पनीले आवश्यक सबै अनुसन्धान पूरा गरिसकेका छन्”, प्रमुख खत्रीले भने, “त्यसैले अबको १० दिनभित्र जहाजको सबै अवशेष पूर्ण रूपमा हटाइने तयारी भइरहेको छ ।” जहाज हटाउने स्वीकृत प्रक्रियाअनुसार हाल दुर्घटनाग्रस्त विमानको बडीबाट ‘बुद्ध एयर’को नाम, लोगो तथा अन्य पहिचान खुल्ने चिह्नहरू मेटाउने कार्य सम्पन्न भइसकेको छ ।

“अहिले विमानको बडीमा बुद्ध एयर लेखिएका कुनै पनि अक्षर वा चिह्नहरू बाँकी छैनन्, जहाजको आकार मात्र देखिन्छ”, विमानस्थल प्रमुख खत्रीले थपे, “बिमा कम्पनी आफैँले आगामी १० दिनभित्र यो अवशेष पूर्ण रूपमा व्यवस्थापन गर्नेछ ।

प्रतिक्रिया