सरकार अधिनायकवादतर्फ उन्मुख भएको प्रदीप ज्ञवालीको आरोप


काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, संवैधानिक संस्थाको गरिमा र सामाजिक न्यायमाथि प्रहार गर्दै अधिनायकवादी दिशातर्फ अघि बढ्न खोजेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ३३ औँ मदन–आश्रित स्मृति दिवस तथा ‘जनताको बहुदलीय जनवाद र युवा’ विषयक विमर्श कार्यक्रममा बोल्दै ज्ञवालीले सरकारका पछिल्ला गतिविधिले लोकतन्त्र कमजोर पार्ने संकेत देखिएको बताएका हुन् ।

उनले नयाँ सरकार गठन भएको ५० दिन नपुग्दै सरकारले गरेका निर्णय र प्रस्तुत शैलीले आगामी राजनीतिक दिशा स्पष्ट देखाइसकेको टिप्पणी गरे ।

“दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बादलले देखाइसकेको हुन्छ,” उनले भने, “सरकार लोकतान्त्रिक अभ्यासभन्दा नियन्त्रणमुखी शैलीतर्फ उन्मुख देखिएको छ ।”

ज्ञवालीले ट्रेड युनियन तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने प्रयास भइरहेको दाबी गर्दै अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजिएको आरोप लगाए । श्रमिक, विद्यार्थी तथा निम्न वर्गका नागरिकका अधिकार क्रमशः संकुचित गरिँदै गएको उनको भनाइ थियो ।

उनले संसद, राष्ट्रपति र न्यायालयजस्ता संवैधानिक तथा निर्वाचित संस्थाको भूमिका कमजोर बनाउने प्रयास भइरहेको आरोपसमेत लगाए । उनका अनुसार लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पारिए मुलुक निर्वाचित अधिनायकवादतर्फ जान सक्ने खतरा बढ्नेछ ।

“ट्रेड युनियन र स्ववियु खारेज गर्ने प्रयास, अध्यादेशबाट शासन गर्ने दुष्प्रयास, सुकुम्बासीमाथि डोजर आतंक तथा सामाजिक सुरक्षाका कार्यक्रम कटौती गर्ने काम भइरहेको छ,” ज्ञवालीले भने, “निर्वाचित संस्था, संसद, राष्ट्रपति र न्यायालयको अवमूल्यनमार्फत मुलुकलाई निर्वाचित अधिनायकवादतर्फ धकेल्न खोजिएको छ ।”

उनले वर्तमान अवस्थामा बलियो लोकतान्त्रिक प्रतिपक्ष आवश्यक रहेको उल्लेख गर्दै संसदभित्र संख्यात्मक रूपमा कमजोर भए पनि जनताको साथ र विभिन्न सामाजिक–राजनीतिक शक्तिको सहयोगबाट लोकतान्त्रिक मूल्यको रक्षा गर्न सकिने बताए ।

ज्ञवालीले लोकतन्त्र, संविधान र सामाजिक न्यायको रक्षाका लागि अहिलेको समय चुनौतीपूर्ण रहेको उल्लेख गरे ।

“लामो संघर्षबाट प्राप्त लोकतन्त्रको उपलब्धि जोगाउन, संविधानको रक्षा गर्न र सामाजिक न्यायसहितको मार्ग निर्माण गर्न अहिलेको समय कठिन अग्निपरीक्षा बनेको छ,” उनले भने ।

उनले मदन आश्रित स्मृति प्रतिष्ठानको भूमिका सहयोगी र सहकार्यकारी रहेको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलनलाई समाजका विभिन्न तहबाट सशक्त बनाउनुपर्ने धारणा राखे । साथै युवाहरूलाई लोकतन्त्र, सामाजिक न्याय र जनअधिकारको पक्षमा सक्रिय हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया