
सरकारी अस्पतालमा करोडौँका औषधि सडेर नष्ट
काठमाडौं- सरकारी स्वास्थ्य संस्थाहरूको लापरबाहीका कारण करोडौँ रुपैयाँ मूल्यका औषधि तथा औषधिजन्य सामग्री प्रयोग नै नगरी म्याद गुज्रिएको पाइएको छ ।
स्वास्थ्य संस्थाले आपूर्तिकर्ताबाट खरिद गरेका औषधिको म्याद सकिएमा, टुटफुट भएमा वा आवश्यकता भन्दा बढी मौज्दात रहेमा सम्झौताअनुसार आपूर्तिकर्तामार्फत प्रतिस्थापन गर्नुपर्ने व्यवस्था छ । तर सम्बन्धित सरकारी निकायले त्यसतर्फ ध्यान नदिँदा ठूलो परिमाणमा औषधि खेर गएको देखिएको हो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनमा विभिन्न सरकारी स्वास्थ्य संस्थाले औषधिको उचित व्यवस्थापन नगर्दा ९ करोड ७ लाख १७ हजार रुपैयाँ बराबरका औषधि तथा किट म्याद गुज्रिएर प्रयोगविहीन भएको उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार स्वास्थ्य सेवा विभागले खरिद गरेका २८ प्रकारका औषधि तथा औषधिजन्य सामग्रीमध्ये ४ करोड ७२ लाख २० हजार रुपैयाँ बराबरको सामग्री प्रयोग नै नगरी म्याद समाप्त भएको छ ।
यस्तै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले खरिद गरेका ६ प्रकारका औषधिमध्ये ४७ लाख ७० हजार रुपैयाँ बराबरका औषधि पनि म्याद गुज्रिएर नष्ट गर्नुपरेको उल्लेख छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा ६०१ प्रकारका औषधि म्याद गुज्रिएको पाइएको छ । ती औषधिको कुल मूल्य १ करोड ४३ लाख ७५ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि १ करोड १९ लाख ९६ हजार रुपैयाँ बराबरका औषधि तथा औषधिजन्य सामग्री म्याद गुज्रिएर खेर गएको पाइएको छ ।
त्यसैगरी टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले १ करोड २३ लाख ५६ हजार रुपैयाँ बराबरका औषधि म्याद गुज्रिन दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले सरकारी स्वास्थ्य संस्थाहरूमा औषधि खरिद, भण्डारण तथा वितरण व्यवस्थापन प्रभावकारी नहुँदा राज्यलाई ठूलो आर्थिक क्षति पुगेको औँल्याएको छ ।



कागजपत्र |
