
‘नोभा’ ब्रान्डको आइसक्रिममा हानिकारक जीवाणु, बिक्री रोक्न विभागको आदेश
काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरी प्रालिद्वारा उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य रहेको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको आइसक्रिमको नमुना प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणु भेटिएपछि यस्तो निर्णय गरिएको हो।
विभागका निमित्त महानिर्देशक सोमकान्त रिजालका अनुसार फिस्टेल डेरीले उत्पादन गरेको ‘नोभा’ ब्रान्डको ब्याच नम्बर सीओ- २ र उत्पादन मिति २०८२ साउन १९ गते उल्लेख भएको आइसक्रिममा परीक्षण गर्दा ‘इन्टेरोब्याक्टेरिएसी’ ब्याक्टेरियाको उपस्थिति फेला परेको हो।
उनका अनुसार आइसक्रिममा ब्याक्टेरिया र कोलिफर्मको मात्रा अत्यधिक भेटिएकाले उक्त उत्पादन मानव स्वास्थ्यका लागि जोखिमपूर्ण रहेको निष्कर्ष निकालिएको छ।
विभागले सोही ब्याचको आइसक्रिम देशभरबाट फिर्ता लैजान तथा बिक्री–वितरण नगर्न सबै सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।



कागजपत्र |
