राष्ट्रपति समक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस, बेरुजुप्रति गम्भीर चिन्ता


काठमाडौं– महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको छ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन प्रस्तुत गरेका हुन्।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले देशमा लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजुप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले बेरुजुले सार्वजनिक निकायमा जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कमजोर भएको संकेत दिएको बताएका छन्।

उनले सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याउँदै बेरुजु फछ्र्यौट गरेर वित्तीय अनुशासन कायम गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए।

राष्ट्रपति पौडेलले अनियमित सरकारी खर्च नियन्त्रण गरी आर्थिक अनुशासन कायम गर्न सके मात्र मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे।

उनले प्रतिवेदनले उठाएका विषयहरूले सम्बन्धित निकायलाई अझ जिम्मेवार बनाउने उल्लेख गर्दै महालेखापरीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण रहेको बताए। साथै आगामी दिनमा संस्थागत सक्षमता, पेशागत क्षमता अभिवृद्धि र आन्तरिक सुशासन सुदृढ गर्नेतर्फ कार्यालय थप सक्रिय हुनुपर्नेमा उनले जोड दिएका छन्।

प्रतिक्रिया