
काठमाडौंबाट वीरगञ्ज आउँदै गरेको बस दुर्घटना
वीरगञ्ज – काठमाडौंबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस शुक्रबार बिहान वीरगञ्जको पावर हाउस चोकमा दुर्घटनाग्रस्त भएको छ। सिकन्दर ट्राभल्सको बागमती प्रदेश ०१–००६ ख ९३५६ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको हो।
वडा प्रहरी कार्यालय श्रीपुरका अनुसार रात्रि सेवामा सञ्चालन हुँदै आएको उक्त बस बिहान गन्तव्य नजिक पुग्ने क्रममा पावर हाउस चोक नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनाको समयमा बसमा रहेका यात्रुहरूको यकिन संख्या खुल्न बाँकी रहे पनि सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको प्रहरीले जनाएको छ।
बस अचानक पल्टिएपछि भित्र रहेका यात्रुहरू केही समय त्रसित बनेका थिए। दुर्घटनालगत्तै स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर उद्धारमा खटिएको थियो। केही यात्रुहरूलाई सामान्य चोटपटक लागे पनि कसैलाई पनि गम्भीर चोट नलागेको र अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार मोड काट्ने क्रममा बसको गति नियन्त्रणमा नरहनु वा चालकको थकान दुर्घटनाको कारण हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।



कागजपत्र |
