बुटवलमा भूमिहीन र सुकुमवासीको प्रदर्शन


बुटवल – भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीहरूले बस्ती हटाउने कार्यको विरोध गर्दै बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले विकल्पबिनै बस्ती खाली गराउने प्रयास तत्काल रोक्न सरकारसँग माग गरेका हुन् ।

प्रदर्शनकारीहरूले वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको पहिचान गरी विगतमा भूमि आयोगले अघि बढाएको व्यवस्थापन प्रक्रिया अनुसार लालपुर्जा उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

आन्दोलनका क्रममा सहभागीहरूले प्रधानमन्त्री बालेनको राजीनामा माग्दै नाराबाजी समेत गरेका थिए । उनीहरूले ‘डोजर आतंक बन्द गर’, ‘नागरिकलाई विस्थापित होइन स्थापित गर’, ‘हाम्रो कर र मत वैध, हामी बसेको जमिन कसरी अवैध ?’, ‘मानव अधिकारको सम्मान गर’, ‘ध्वंश होइन बाँच्ने अधिकार दे’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

रुपन्देहीमा भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी गरी ८० हजारभन्दा बढी व्यक्तिले विघटित भूमि समस्या समाधान आयोगमा निवेदन दिएको तथ्यांक छ ।

विघटित आयोगका रुपन्देही अध्यक्ष कुमार थापा मगरका अनुसार जिल्लामा करिब एक लाख भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोवासी रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया