
यमुनामा डुंगा डुब्यो, ६ जना बेपत्ता, ३ जनाको उद्दार
काठमाडौं – उत्तर प्रदेशको हमीरपुरमा बुधबार साँझ यमुना नदीमा डुङ्गा डुब्दा सवार ६ जना बेपत्ता भएका छन् ।
उक्त डुङ्गामा ९ जना सवार रहेका थिए सोहीमध्ये ३ जनाको तत्काल उद्धार गरिएको छ भने ६ जना अझै बेपत्ता छन्। बेपत्ता हुनेहरूमा ५ जना बालबालिका र एक महिला रहेका छन्।
घटनालगत्तै बेपत्ताहरूको खोजीका लागि ‘भारतको राष्ट्रिय विपद् व्यवस्थापन बल’ एनडिआरएफ र फ्लड प्याक युनिट जस्ता विशेषज्ञ टोलीहरू परिचालन गरिएको छ।
जिल्ला अधिकारी अभिषेक गोयलका अनुसार घाटमपुरबाट ९ जना यात्रु बोकेर हिँडेको डुङ्गा यमुना नदीको बीचमा पुगेपछि अचानक डुबेको थियो। घटनाको जानकारी पाउनासाथ स्थानीय गाउँले र प्रहरी टोली घटनास्थलमा पुगेका थिए।
जिल्ला अधिकारी गोयलले भने, ‘नाविकका अनुसार डुङ्गा पल्टिएको नभई आफैँ डुबेको हो। पौडी खेल्न जान्ने ३ जना बाहिर निस्कन सफल भए पनि बाँकी ६ जनाको अवस्था अझै अज्ञात छ।’
स्थानीय बीजेपी विधायक मनोज प्रजापतिले घटनाप्रति दुःख व्यक्त गर्दै प्रशासन पूर्ण रूपमा सतर्क रहेको बताएका छन्। उनले भने, ‘बेपत्ता हुनेहरूमा ५ बालबालिका र १ महिला छन्।
अहिले घटनास्थलमा ३ वटा राज्य विपद् व्यवस्थापन (SDRF) टोलीहरू तैनाथ गरिएका छन्। सरकारले नियमअनुसार कारबाही प्रक्रिया अगाडि बढाउनेछ र यसबारे पूर्ण प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइनेछ।’



कागजपत्र |
