नेतृत्व रिक्तताबीच निगमको जहाज ग्राउन्डेड, मर्मत प्रक्रिया प्रभावित


काठमाडौं-   नेपाल वायुसेवा निगमको एक वाइडबडी जहाज एक सातादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको छ। गत शुक्रबार जापानको नारिता विमानस्थलबाट काठमाडौं फर्कँदै गरेको एयरबस ए३३०–२०० (कलसाइन ९एन-एएलवाई ‘अन्नपूर्ण’) जहाज उडानका क्रममा चट्याङमा परेपछि गम्भीर क्षति पुगेको हो।

चट्याङका कारण जहाजमा ठूलो प्राविधिक क्षति देखिएपछि सामान्य मर्मतले नहुने भएको र निर्माता कम्पनी एयरबस तथा इन्जिन निर्माता रोल्स रोयसको प्राविधिक सहमति लिएर मात्र मर्मत प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको निगमले जनाएको छ।

निगमका अनुसार आवश्यक पार्टपुर्जा नेपालमा उपलब्ध नभएकाले विदेशबाट आयात गर्नुपर्नेछ। आवश्यक सामान बेलायतमा रहेको र त्यहाँबाट ल्याउने प्रक्रिया अघि बढाइएको छ। मर्मतमा ठूलो खर्च लाग्ने भएकाले निगमलाई तत्काल जहाज सञ्चालनमा ल्याउन चुनौती थपिएको छ।

निगमको आर्थिक कार्यविधिअनुसार विभागीय प्रमुखलाई १० करोड रुपैयाँसम्म, नायब महाप्रबन्धकलाई १५ करोडसम्म खर्च गर्ने अधिकार छ भने त्यसभन्दा बढी खर्चको निर्णय कार्यकारी अध्यक्षले मात्र गर्न सक्ने व्यवस्था छ। तर अहिले निगममा कार्यकारी अध्यक्ष र महाप्रबन्धक दुवै पद रिक्त रहेको अवस्था छ।

सञ्चालक समितिमा समेत सदस्य संख्या घटेर सीमित बनेको छ। अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयका एक–एक जना प्रतिनिधिबाहेक अन्य सबै सदस्यहरू ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ लागू भएसँगै पदमुक्त भएका छन्।

हाल सञ्चालक समितिमा पर्यटन मन्त्रालयका प्रतिनिधि जयनारायण आचार्य र अर्थ मन्त्रालयका प्रतिनिधि भरतमणि पाण्डे मात्र सक्रिय छन्। निगममा पाँच सदस्य पद रिक्त रहेको र कार्यकारी निर्णय गर्न आवश्यक संरचना कमजोर बनेको छ।

यसअघि कार्यकारी निर्देशकको जिम्मेवारी पाएका अमृतमान श्रेष्ठ पनि अध्यादेशपछि पदमुक्त भएका छन्। यसले निगमको दैनिक सञ्चालन, उडान व्यवस्थापन र मर्मतसम्बन्धी निर्णय प्रक्रियामा थप जटिलता सिर्जना गरेको छ।

यता पर्यटन मन्त्रालयले रिक्त सञ्चालक समिति सदस्य पदपूर्तिका लागि आवेदन आह्वान गरेकोमा २७ जनाले इच्छा देखाएका छन्। मन्त्रालयले उनीहरूको संक्षिप्त सूची तयार पार्ने प्रक्रिया अघि बढाइरहेको छ।

प्रतिक्रिया