शेखर गोल्छा हाजिर जमानीमा रिहा, म्याद थप गर्न अदालतद्वारा अस्वीकार


काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई थुनामा राख्न म्याद थपका लागि गरिएको माग जिल्ला अदालत काठमाडौंले अस्वीकार गरेको छ।

अदालतले थुना म्याद अस्वीकार गरेसँगै गोल्छा मंगलबार (वैशाख २२) हाजिर जमानीमा रिहा भएका छन्।

यसअघि सोमबार (वैशाख २१) सर्वोच्च अदालतले उनलाई धरौटी वा जमानतमा रिहा गर्न आदेश दिएको थियो। सो आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई पुनः पक्राउ गरी मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो।

तर न्यायाधीश मोना सिंहको इजलासले गोल्छाविरुद्ध म्याद थप नगरी हाजिर जमानीमा छाड्ने आदेश दिएको अदालतका सूचना अधिकारी हेमन्त भट्टराईले जानकारी दिएका छन्।

सर्वोच्च अदालतले गोल्छाको पक्राउमा कानुनी प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै धरौटी वा जमानतमा अनुसन्धान अघि बढाउन आदेश दिएको थियो।

यसअघि सीआईबीले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने निर्णय गरेको भए पनि बीमा सम्बन्धी कसुरमा अनुसन्धानका लागि भन्दै उनलाई पुनः पक्राउ गरिएको थियो।

प्रतिक्रिया