लगातारको वर्षापछि यी मुख्य राजमार्ग अवरूद्ध, कुनको अवस्था कस्तो ?


काठमाडौं – केही दिनदेखि परिरहेको वर्षातले बाढी र पहिरो आएपछि बीपी राजमार्ग, अरनिको राजमार्ग र मध्य पहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन्।

नेपाल प्रहरीले मंगलवार बिहान अद्यावधिक सूचना जारी गर्दै यो जानकारी दिएको हो ।

काभ्रेको नमोबुद्ध नगरपालिका-६ चौकी डाँडा र रोशी गाउँपालिका ७ घुमाउने, चारसय बेँसी लगायतका ठाउँमा पहिरो खस्दा र खोलाले सडक बगाउँदा बीपी राजमार्ग अहिले पूर्णरुपमा अवरुद्ध छ। बीपी राजमार्ग सोमबार साँझदेखि नै अवरुद्ध बनेको हो।

यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा ईकु पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध छ। लमजुङको मध्य नेपाल नगरपालिका-१० बिमिरे भञ्ज्याङमा पहिरो खस्दा मध्य पहाडी राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध छ।

यसैगरी, ललितपुरको बागमती गाउँपालिका-३ भालुखोला र मकवानपुरको भिमफेदी गाउँपालिका-८ भन्ज्याङडाँडामा पहिरो खस्दा कान्ति लोकपथ एकतर्फी अवरुद्ध बनेको छ। त्यहाँ मुस्किलले सवारी साधन वारपार भइरहेका छन्।

यसैगरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ जलथलेमा पनि पहिरो खस्दा बेनी जोमसोम सडक पनि एकतर्फी अवरुद्ध बनेको छ। पहिरो पन्छाएर अवरुद्ध सडकमा गाडी सञ्चालनको तयारी भइरहेको पनि प्रहरीले जनाएको छ।

image-36-1536x1187-1777959198.png

प्रतिक्रिया