मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदै, एमालेका केही सांसद फ्लोरक्रस गर्नसक्ने


काठमाडौं – कर्णाली प्रदेशसभाको सातौं अधिवेशन आजबाट सुरु हुँदैछ। आजै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदैछन्। अधिवेशन आजबाट सुरु भएकाले मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन्।

समर्थन फिर्तासहित नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएपछि मुख्यमन्त्री शाही अल्पमतमा छन्। आज दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत माग्न लागेका हुन्।

माओवादी केन्द्रको प्रदेश सभा दलकी प्रमुख सचेतक सीताकुमारी नेपालीले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन सबै प्रदेश सांसदहरुलाई आग्रह गरेकी छिन्। मुख्यमन्त्री शाहीका पक्षमा मत दिन उनले बिहीबार अपिल नै जारी गरेकी थिइन्।

आजको प्रदेशसभा बैठकमा ६ वटा कार्यसूची भएपनि बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त संसद आह्वान सम्वन्धीको पत्र पढेर सुनाइनेछ।

त्यसपछि मन्त्रालयहरुको जिम्मेवारी हेरफेरको पत्र प्रस्तुत गरिनेछ। तत्कालीन एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा दिएपछि मुख्यमन्त्री महेन्द्र शाहीले ती मन्त्रालयहरुको जिम्मेवारी हेरफेर गरेका छन्।

बैठकमा तेस्रो कार्यसूचीमा धर्मराज रेग्मीको पद खाली भएको जानकारी गराइने उल्लेख छ। तत्कालीन माओवादी केन्द्रबाट दैलेख क्षेत्र नं. १ ‘क’बाट निर्वाचित सांसद रेग्मी एमालेमा प्रवेश गरेपछि कारबाही गरेको छ।

चौथो कार्यसूचीमा संसदमा प्रतिनिधित्व गर्ने चारवटै दलका एक–एक जना सांसदहरुले बोल्ने कार्यक्रम छ। संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरुले बोलेपछि एक घण्टाका लागि संसद बैठक स्थगित हुनेछ।

त्यसपछि मुख्यमन्त्री शाहीले प्रदेश लोकसेवा आयोग सम्वन्धिको संशोधन र प्रशासनिक कार्यविधि संशोधन सम्वन्धीका विधेयक प्रस्तुत गर्नेछन्। उक्त विधेयकहरु पारित भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ।

४० सदस्यीय कर्णाली प्रदेशसभाका सदस्यमध्ये माओवादी केन्द्रबाट निर्वाचित धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि ३९ सदस्यीय बनेको छ। प्रदेशसभामा बहुमत पु‍र्याउनका लागि २० जना सांसदको आवश्यकता पर्छ।

एमाले एक्लैसँग बहुमतका लागि सभामुखसहित २० जना सांसद छ। माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र राप्रपाका एकजना सांसद छन्। माओवादी केन्द्रका शाही नेतृत्वको सरकारबाट बाहिरिँदै एमालेले नयाँ सरकार निर्माणको गृहकार्य थालेको छ।

यस्तो अवस्थामा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ। एमालेकै केही सांसदहरु फ्लोरक्रस गरेर मुख्यमन्त्रीको पक्षमा उभिने अनुमान छ।

प्रतिक्रिया