ट्रेड युनियन कांग्रेसले गर्यो निजामति ट्रेड युनियन खारेजको विरोध

श्रमिकको हितका लागि श्रम आयोग गठन गर्न माग


काठमाडौं — नेपाल ट्रेड युनियन कांग्रेसले अध्यादेशमार्फत् निजामति ट्रेड युनियन खारेज गरेकोमा खेद प्रकट गरेको छ । राष्ट्रिय परिषद् बैठक सम्पन्नपछि बैठकमा उठान गरिएका विषयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष अध्यक्ष योगेन्द्र कुमार कुँवरले उक्त कुरा बताएका हुन् ।

ट्रेड युनियन कांग्रेसको कार्यालयमा अध्यक्ष कुँवरको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा यही बैशाख १८ र १९ गते काठमाडौंमा राष्ट्रिय परिषद् बैठक सम्पनन भएको जानकारी समेत गराइएको थियो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुँवरले सरकारले श्रमिकहरुलाई अविलम्ब रासन कार्डको व्यवस्था गर्न र न्यूनतम पारिश्रममा एकरुपता ल्याउन पनि माग गरे । उनले संविधान संशोधन गर्दा श्रमिक, युवा र किसानको छुट्टै क्लस्टर बनाउन पनि सरकारलाई सुझाव दिएका छन् । उक्त अवसरमा अध्यक्ष कुँवरले श्रम आयोग गठनको समेत माग गरेका थिए ।

नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् बैठकले ११ वटा विशेष प्रस्ताव र १५ वटा समसामयिक प्रस्ताव पास गरेको छ । पत्रकार सम्मेलनका क्रममा सरकारले ट्रेड युनियन खारेज गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय ट्रेड युनियन कन्फेडेरेसनले समेत प्रधानमन्त्री बालेन्द शाहलाई पत्राचार गरेको जानकारी गराइएको थियो ।

ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले बैठकले पास गरेका विशेष र समसामयिक प्रस्तावहरु वाचन गरेका थिए ।

उक्त अवसरमा अध्यक्ष कुँवरले अध्यादेश ल्याएर सरकारले ट्रेड युनियन खारेज गरेकोप्रति आपत्ति जनाएका थिए । उनले ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयलाई पुनरावलोकन गर्न आग्रह समेत गरे ।

यद्यपी बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेसँग निजामती कर्मचारीको ट्रेड युनियन खारेज भइसकेको अवस्था छ ।

सरकारले मौजुदा निजामती सेवा ऐनको दफा ५३ संशोधन गर्दै निजामती कर्मचारी ट्रेड युनियन खारेज गरेको हो। सरकारले ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ मार्फत् निजामती सेवा ऐनको दफा ५३ मा रहेको ट्रेड युनियनको व्यवस्था हटाएको हो।

प्रतिक्रिया