फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु


पोखरा । फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१८ का १० वर्षीय अरेश लामा शुक्रबार बिहान फेवातालको खपौदी क्षेत्रमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहान करिब ११:०५ बजे बालक अचानक पानीमा डुबेर बेपत्ता भएका थिए। घटनापछि स्थानीयले तत्काल उद्धार प्रयास गरेका थिए भने सूचना पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक मुकुन्द सिग्देलको कमाण्डमा आठ जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल नं. २४ गणबाट सशस्त्र प्रहरी नायव निरीक्षक तारा चन्द्र शर्माको कमाण्डमा सात जनाको टोली उद्धारका लागि खटिएको थियो।

सशस्त्र प्रहरीको टोलीले बालकलाई पानीबाट निकालेर उद्धार गरे पनि उनको अवस्था गम्भीर रहेको थियो। उनलाई तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले करिब १२:१५ बजे मृत घोषणा गरेका हुन्।

प्रतिक्रिया