दुर्गम सरुवाप्रति असन्तुष्ट उपसचिव ऐडीको राजीनामा


बाजुरा-  बाजुराको बुढीगंगा नगरपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत उपसचिव भोजबहादुर ऐडीले  राजीनामा दिएका छन्। उनले बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेर औपचारिक रूपमा राजीनामाको निवेदन दर्ता गराएका हुन्।

भर्खरै उपसचिवमा बढुवा भएका ५६ वर्षीय ऐडी लामो समयदेखि आफूलाई दुर्गम क्षेत्रमा खटाइएकोप्रति असन्तुष्टि जनाउँदै आएका थिए। उनले मन्त्रालयसँग सुगम क्षेत्रमा सरुवा गरिदिन आग्रह गरे पनि पुनः सोही दुर्गम क्षेत्रमा खटाइएपछि काम गर्न कठिन भएको गुनासो गरेका छन्। व्यक्तिगत कारणसमेत उल्लेख गर्दै उनले पदबाट अलग हुने निर्णय लिएका हुन्। यद्यपि, उनको राजीनामा भने मन्त्रालयले हालसम्म स्वीकृत गरिसकेको छैन।

मन्त्रालयले उनलाई २०८२ पुस महिनामा बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो। सरुवापछि दुई महिनापछि मात्रै, फागुनमा उनले नगरपालिकामा हाजिर गरेका थिए तर एक सातामै पुनः फर्किएका थिए। त्यसपछि मन्त्रालयले चैत १६ गते पुनः सोही स्थानमा खटाए पनि उनी हालसम्म हाजिर भएका छैनन्।

बुढीगंगा नगरपालिका करिब चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा रहेको छ।

प्रतिक्रिया