
छिटो कामका लागि अध्यादेश रोजिएकाे हाे : रास्वपा
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले छिटो काम सम्पन्न गर्न अध्यादेशको बाटो रोजेको जनाएको छ ।
संसदीय दलको अनौपचारिक बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री कवीन्द्र बुर्लाकोटीले विधेयक प्रक्रियामार्फत अघि बढ्दा लामो समय लाग्ने भएकाले अध्यादेशमार्फत कामलाई छिटो अघि बढाउन खोजिएको बताए ।
उनले भने, “यो अध्यादेश आम नागरिकको म्यान्डेटअनुसार छिटो काम गर्न ल्याइएको हो । कानुनी प्रक्रियामा जाँदा न्यूनतम तीन–चार महिना लाग्ने अवस्था हुन्छ । प्रक्रियागत रूपमा लामो अभ्यास गर्नुपर्ने भएकाले छरितो उपायका रूपमा अध्यादेश ल्याइएको हो ।”
सदनको अधिवेशन स्थगन गरेर अध्यादेश ल्याइएको विषयमा उठेका प्रश्नबारे उनले सरकारको नियत स्पष्ट र सकारात्मक रहेको दाबी गरे ।
रास्वपाका प्रवक्ता मनिष झाले पनि विगतमा भएको अनावश्यक दलियकरण र गलत नियुक्तिहरू सच्याउन आवश्यक रहेको भन्दै अध्यादेश त्यसकै सुधारका लागि ल्याइएको बताए ।
उनले भने, “पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई दबाबमा राख्न प्रयोग गरिन्थ्यो । अहिलेको अभ्यास कसैलाई दुःख दिन वा सुविधा दिनका लागि होइन, आवश्यक सुधारका लागि हो । यो कानुनी दायराभित्र रहेर गरिएको अभ्यास हो ।”
झाले रास्वपा कानुनी प्रक्रिया, राजनीतिक आचरण र लोकतान्त्रिक पद्धतिप्रति गम्भीर रहेको दाबी गर्दै संसदीय समिति गठनमा पनि प्रमुख प्रतिपक्षसँग सहमति खोजिएको उदाहरण प्रस्तुत गरे ।



कागजपत्र |
