दराजमा स्पिकर अर्डर गर्दा महिलाको ‘ब्रा’ डेलिभर्ड भएपछि…


काठमाडौं – ईकमर्स कम्पनी दराजले स्पिकर अर्डर गर्दा महिलाको भित्री बस्त्र (ब्रा) डेलिभर गरेको छ । ग्लोबल मुन कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक कृष्ण आचार्यले दराज मोबाइल एपबाट स्पिकर अर्डर गर्दा ब्रा पाएका हुन् ।

आचार्यले बुधबार दराज एपमार्फत फेनटेक गेमिङ स्पिकर एक हजार ६६ रुपैयाँमा अर्डर गरेका थिए । तर, दराजले उनलाई महिलाले लगाउने इनभिजिबल पुसअप ब्रा डेलिभर गर्‍याे ।

डेलिभर ब्वाइलाई त्यो आफ्नो सामान नभएकाले फिर्ता लग्न आग्रह गर्दा डेलिभर ब्वाइले समेत आचार्यका लागि कम्पनीले सोही सामान पठाएको बताएका थिए ।

त्यसपछि दराजको वेबसाइटमा नम्बर नपाएपछि कम्पनीको फेसबुक पेजमार्फत म्यासेज गर्दा पनि प्रतिक्रिया नपाएको उनले गुनासो गरे ।आचार्यले दराजबाट यसअघि पनि सामान अर्डर गर्ने गरेको बताए । ‘यसअघि पनि सामान अर्डर गर्दा सामान नपाएपछि एक महिना लगाएर रिफण्ड पाएको थिएँ,’ उनले सुनाए ।

उनको पर्चेज कोड २०२२१४२२७१५२०९८ रहेको छ । यस विषयमा दराजसँग कुरा गर्दा कम्पनीले पर्चेज कोडमाथि अनुसन्धान गर्ने जानकारी दिएको छ ।

साथै कम्पनीले सेवालाई लिएर कुनै गुनासो भएको खण्डमा एपभित्रै रहेको च्याटबटबाट कम्पनीसँग सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया