
युद्धविराम घोषणापछि पनि इरानको आक्रमण, होर्मुजमा तीन जहाज निशानामा
काठमाडौं- इरानले रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ होर्मुज क्षेत्रमा आक्रमण तीव्र बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको अनुरोधमा इरानसँगको युद्धविराम लम्ब्याउने घोषणा गरेको केही घण्टामै यी घटना भएका हुन् ।
बेलायतको समुद्री सुरक्षा निगरानी संस्था यूकेएमटीओका अनुसार बुधबार बिहान उक्त क्षेत्रमा कम्तीमा तीन वटा कन्टेनर जहाजमाथि गोली प्रहार गरिएको छ । रिपोर्टअनुसार इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (आईआरजीसी)सँग सम्बन्धित गनबोटहरूले विभिन्न जहाजलाई लक्षित गर्दै आक्रमण गरेका हुन् ।
ओमानको उत्तर–पूर्वतर्फ लाइबेरियामा दर्ता भएको एक जहाजमाथि गोली र रकेट–प्रोपेल्ड ग्रेनेड प्रहार गरिएको थियो । आक्रमणबाट जहाजको ब्रिजमा क्षति पुगेको भए पनि आगलागी वा वातावरणीय असर भने नभएको र चालक दल सबै सुरक्षित रहेको जनाइएको छ । जहाजका कप्तानका अनुसार आक्रमणअघि कुनै चेतावनी वा रेडियो सम्पर्क गरिएको थिएन ।
सुरक्षा स्रोतहरूका अनुसार उक्त गनबोटमा तीन जना सवार थिए । यसैबीच, इरानको पश्चिमतर्फ करिब ८ नटिकल माइल दूरीमा रहेको अर्को पनामामा दर्ता भएको जहाजमाथि पनि गोली प्रहार गरिएको यूकेएमटीओले जनाएको छ । उक्त घटनामा भने कुनै क्षति नभएको र चालक दल सुरक्षित रहेको बताइएको छ ।
तेस्रो घटनामा इरान नजिकैबाट बाहिरिँदै गरेको अर्को लाइबेरियामा दर्ता भएको जहाजलाई लक्षित गर्दै गोली चलाइएको थियो । जहाजलाई केही समय रोक्न बाध्य पारिए पनि ठूलो क्षति नभएको र चालक दल सुरक्षित रहेको जानकारी दिइएको छ ।
लगातार भएका यी आक्रमणहरूले स्ट्रेट अफ होर्मुज क्षेत्रको सुरक्षा र अन्तर्राष्ट्रिय समुद्री व्यापारमा थप चिन्ता बढाएको छ ।



कागजपत्र |
