
टी–२० सिरिजः नेपाल र युएईबीचको दोस्रो खेल आज
काठमाडौं – नेपाल र युएईबीचको टी–२० सिरिजको दोस्रो खेल आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ। सिरिजको पहिलो खेलमा युएई विजयी भएको थियो।
सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउँदैछ। टिममा ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल छन्। त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान छन्।
नेपालले पहिलो पटक टी–२० र एकदिवसीय क्रिकेटमा अलग–अलग कप्तानको अभ्यास गरेको हो। पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसीलगायतका खेलाडी टी–२० टिमबाट बाहिर छन्।
पहिलो खेलमा डिएल मेथडमा ६ विकेटले हारेको नेपाली क्रिकेट टोलीलाई आज दुई खेलको सिरिज बराबरी गर्ने मौका छ। त्यसका लागि आज नेपाली टोलीले पहिलो खेलमा गरेका गल्ती सुधार गर्नुपर्ने हुन्छ। पहिलो खेलमा खराब ब्याटिङ गरेको नेपाली टोलीले यसलाई सच्याउनु जरुरी देखिएको छ।



कागजपत्र |
