विराटनगरमा धर्म प्रचार: ६ सिंगापुरे नागरिक पक्राउ


विराटनगर – विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्टर्न स्टारमा अवैध रूपमा धर्म प्रचार भइरहेको आरोपमा प्रहरीले ६ जना सिंगापुरका नागरिकलाई नियन्त्रणमा लिएको छ।

शनिबार बिहान विशेष सूचनाका आधारमा प्रहरीले होटलको सभा हलमा छापा मार्दा ‘लाफिङ बुद्ध’ सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको भेटिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा कार्यक्रमका मुख्य सञ्चालक को वी हक र लोह ली पेङसहित ६ जना सिंगापुरका नागरिक रहेका छन्। उनीहरूसँगै नेपाली सहयोगी निरा राजभण्डारी पनि सहभागी थिइन्।

कार्यक्रममा १६ वर्षमुनिका १२ जना किशोरीसहित करिब ३० जना सहभागी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हलभित्र लाफिङ बुद्धको मूर्ति राखेर गौतम बुद्धको शिक्षाको नाममा प्रशिक्षण दिने बहानामा धर्म प्रचार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया