
भारतमा नेपाली सवारीका लागि इन्धनमा कडाइ, नयाँ नियम लागू
काठमाडौं- भारत–नेपाल सीमावर्ती क्षेत्रमा इन्धनको मूल्य अन्तरका कारण पेट्रोल पम्पहरूमा भीड बढेपछि भारतीय प्रशासनले नेपाली सवारीसाधनका लागि नयाँ नियम लागू गरेको छ।
नेपालमा इन्धनको मूल्य उल्लेख्य रूपमा बढेपछि नेपाली सवारी चालकहरू सस्तो इन्धनका लागि भारततर्फ जाने क्रम बढेको छ। यसले सीमावर्ती भारतीय क्षेत्रमा रहेका पेट्रोल पम्पहरूमा अत्यधिक भीडभाड हुनुका साथै स्थानीय बासिन्दाले इन्धन नपाउने समस्या देखिएको छ।
नेपालमा डिजेलको मूल्य प्रतिलिटर करिब ३३ रुपैयाँले बढेर भारतीय रुपैयाँमा १४८ रुपैयाँभन्दा माथि पुगेपछि धेरै नेपाली सवारी चालकले भारतबाट ट्यांकी फुल गर्ने गरेका छन्। यसले कृत्रिम अभाव सिर्जना गरेको प्रशासनको भनाइ छ।
यस अवस्थालाई नियन्त्रण गर्न नौतनवा क्षेत्रका एसडीएम नवीन प्रसादले कडा निर्देशन जारी गरेका छन्। अब नेपाली सवारीसाधनलाई सीमित मात्रामा इन्धन उपलब्ध गराइनेछ।
नयाँ नियमअनुसार:
-दुई पाङ्ग्रे सवारीलाई बढीमा ३ लिटर पेट्रोल
-साना चारपाङ्ग्रे सवारीलाई बढीमा १० लिटर पेट्रोल/डिजेल
-ठूला सवारी (ट्रक आदि) लाई बढीमा २० लिटर डिजेल
केही पेट्रोल पम्पहरूले भीड व्यवस्थापन गर्न २०० रुपैयाँ बराबरको मात्र इन्धन दिने व्यवस्था समेत गरेका छन्। नियम उल्लंघन गर्ने पम्प सञ्चालकलाई कडा कारबाही गरिने चेतावनी दिइएको छ।
इन्धन अभावका कारण स्थानीय र नेपाली चालकबीच विवादसमेत बढ्न थालेको छ। स्थानीय बासिन्दाले छुट्टाछुट्टै लाइन र आफूहरूलाई प्राथमिकता दिन माग गरेका छन्।
प्रशासनले स्थिति संवेदनशील रहेको बताउँदै चाँडै पम्प सञ्चालकहरूसँग छलफल गरी थप व्यवस्था लागू गर्ने जनाएको छ।



कागजपत्र |
