
ट्रायल पासपछि महिनौँ कुर्नुपर्ने बाध्यताको अन्त्य, तत्काल लाइसेन्स दिने सरकारको योजना
काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रको स्थलगत निरीक्षण गर्दै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्।
निरीक्षणका क्रममा उनले सरकारले सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित काम गरिरहेको उल्लेख गर्दै ट्रायल पास गरेपछि लामो समयसम्म लाइसेन्स नपाउने समस्या अब अन्त्य हुने बताएका छन्। उनका अनुसार अबदेखि ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छापी वितरण गर्ने व्यवस्था लागू गरिएको छ।
मन्त्री तिमिल्सिनाले छपाइ प्रक्रिया तीव्र पार्दै हाल बाँकी रहेका सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य राखिएको पनि जानकारी दिए। ‘अब सम्भव कामलाई असम्भव भन्दै रोक्ने प्रवृत्ति अन्त्य हुन्छ,’ उनले भने, ‘ट्रायल पास गरेपछि महिनौँ कुर्नुपर्ने अवस्था हटाउँदै २४ घण्टाभित्रै लाइसेन्स उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको छ।’
उनले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्वपूर्ण सम्पत्ति र सम्भावनायुक्त संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै विगतमा इच्छाशक्ति अभावका कारण काममा ढिलाइ भएको टिप्पणी गरे। अब ती समस्याहरू समाधान गर्दै संस्थागत जिम्मेवारी बढाउनुपर्ने उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले केन्द्रमा रहेका उपकरणहरूको प्रभावकारी प्रयोग गर्न निर्देशन दिँदै करिब १ अर्ब रुपैयाँ बराबरका उपकरण वर्षौँदेखि प्रयोगविहीन रहेकोप्रति असन्तुष्टि जनाए। उनले तीन वर्षदेखि थन्किएका मेसिनहरू अहिले सञ्चालनमा ल्याइएपछि छपाइ सम्भव भएको उल्लेख गर्दै विगतमा काम किन अघि बढ्न सकेन भन्ने प्रश्न पनि उठाए।
त्यस्तै, उनले नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकता दिन निर्देशन दिँदै सरकार जनताको हितमा मात्र सञ्चालन हुने बताए। सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न, गुनासो सुन्न र समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।
यससँगै, देशभर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको पहुँच तथा गुणस्तर सुधार गर्ने विषय पनि मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै उनले आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य रहेको उल्लेख गरे।



कागजपत्र |
