
सुजनले चौथोपटक छेडे जिब्रो
भक्तपुर- भक्तपुरको मध्यपुरथिमिस्थित बोडेमा बुधबार परम्परागत जिब्रो छेड्ने जात्रा मनाइएको छ ।
जात्रामा स्थानीय सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेडेर परम्परालाई निरन्तरता दिएका छन् । नाइकेहरूले देवगणको पूजा गरेपछि तेलमा डुबाइएको करिब १० इन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणस्थित मञ्चमा उनको जिब्रो छेडिएको हो ।
परम्पराअनुसार चैत मसान्तमा बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्ति निराहार व्रत बस्ने चलन छ । जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् (महाद्वीप) बोकेर टोल–टोल घुम्ने र भाँगु टोल हुँदै पाँचो गणेश मन्दिरमा पुगेर सुइरो निकालिन्छ । त्यसपछि महालक्ष्मी मन्दिरमा ठोकेपछि जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।
दैवी शक्तिमा विश्वास राख्दै प्राचीनकालदेखि सञ्चालन हुँदै आएको यो जात्रा नीलबाराही देवगणसँग सम्बन्धित मानिन्छ ।
किंवदन्तीअनुसार प्राचीन समयमा बोडे क्षेत्रमा भुतप्रेत, पिशाच र ख्याकले स्थानीयलाई दुःख दिने गर्थे । त्यसपछि तान्त्रिक भीमदत्तले तान्त्रिक विधिबाट ती पिशाचलाई नियन्त्रणमा लिएर जिब्रो छेडी महाद्वीप बोकाएर गाउँ परिक्रमा गराएपछि यो परम्पराको सुरुआत भएको विश्वास गरिन्छ ।



कागजपत्र |
