संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार


काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिहरूको सभापति निर्वाचन यही वैशाख ४ गते हुने भएको छ ।

‘मिनी संसद्’का रूपमा परिचित समितिहरूको सभापति चयनका लागि सङ्घीय संसद् सचिवालयले निर्वाचन कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

निर्वाचन कार्यक्रमअनुसार बिहीबार अपराह्न १ बजेदेखि ४ बजेसम्म सम्बन्धित समितिका सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता गर्न सकिनेछ । प्रस्ताव दर्ताका लागि एक जना सदस्य प्रस्तावक र अर्को सदस्य समर्थक हुनुपर्ने व्यवस्था रहेको प्रतिनिधिसभाका सचिव हर्कराज राईले जानकारी दिएका छन् ।

उक्त दिन अपराह्न ४ः३० बजेसम्म दर्ता भएका प्रस्तावहरूको नामावली सार्वजनिक गरिनेछ । त्यसपछि शुक्रबार अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले समर्थन जनाउने र निर्णयार्थ पेश गरिनेछ ।

यदि एकभन्दा बढी समितिमा सदस्य रहेका मन्त्रीहरूले मतदान गर्नुपर्ने अवस्था आएमा निर्वाचन हुनुभन्दा २४ घन्टा अगावै सम्बन्धित समितिलाई लिखित जानकारी गराउन सचिवालयले अनुरोध गरेको छ ।

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभामा १० वटा, राष्ट्रियसभामा चार वटा तथा दुई संयुक्त समिति रहेका छन् । प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकारदेखि लिएर अर्थ, सार्वजनिक लेखा, शिक्षा, स्वास्थ्य, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्यलगायतका विषयगत समितिहरू छन् ।

संयुक्त समितिमा संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति रहेका छन् ।

प्रतिक्रिया