आज टाढिएका सम्बन्ध जोड्ने पर्वका रूपमा बिसु पर्व मनाइँदै


कञ्चनपुर – ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ ।

वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका सीमानाकामा बिसु पर्व मनाउन घर फर्कनेहरूको घुइँचो बढेको छ । जहाँ भारतबाट फर्कनेमध्ये पहाडी क्षेत्रका बासिन्दाको सङ्ख्या उल्लेख्य छ ।

नयाँ वर्षको सुरुवातसँगै वैशाख १ गते मनाइने बिसु पर्व केवल चाड मात्र नभई पारिवारिक पुनर्मिलन, सामाजिक एकता र सांस्कृतिक निरन्तरताको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ । रोजगारी, अध्ययन वा अन्य कारणले देशविदेशमा रहेकाहरू यो पर्व मनाउनका लागि घर फर्कने परम्पराले गाउँघरमा विशेष रौनक थपेको स्थानीय बताउँछन् ।

बिसु पर्वका अवसरमा नयाँ लुगा लगाउने, आफन्त र परिवारसँग भेला भएर मिठोमसिनो परिकार खाने तथा वर्षभरिका सुखदुःख साटासाट गर्ने चलन रहिआएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका पूर्वअध्यक्ष हरिप्रसाद जोशीले बताए । उनका अनुसार यस पर्वका अवसरमा घरघरमा मासु, मालपुवा, खीर, लाउन (पुरी), बटुक, माणालगायत मौलिक परिकारहरू तयार पारिन्छन् ।

यी परिकार केवल खानाका रूपमा सीमित नभई पुस्तौँदेखिको परम्परा र सामूहिक जीवनशैलीको प्रतीकका रूपमा रहेको जोशीले बताए । उनका अनुसार बिसु पर्वको अर्को महत्वपूर्ण पक्ष बिहानै अनिवार्य स्नान गर्ने हो । “बिहान ब्रह्ममुहूर्तमा नुहाएपछि रोगव्याध हट्ने र शरीर शुद्ध हुने जनविश्वास रहिआएको छ”, उनले भने, “ननुहाए ‘विष लाग्ने’ भन्ने मान्यता पनि प्रचलित छ ।”

प्रतिक्रिया