
कञ्चनपुरमा जिप दुर्घटना: थप एकसहित तीनजनाको मृत्यु
कञ्चनपुर- कञ्चनपुरमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा कृष्णपुर नगरपालिका–१ का २४ वर्षीय जिप चालक अर्जुन साउद रहेका छन्। उनको उपचारका क्रममा धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको हो।
यसअघि कृष्णपुर नगरपालिका–१ कै ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावतीदेवी बोहराको घटनास्थलमै मृत्यु भएको थियो।
बिहीबार कृष्णपुर नगरपालिका–१ कुगडास्थित पहरीया–कुमगडा भित्री सडक खण्डमा से १ ज २९० नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएका पाँच जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।



कागजपत्र |
