सांसद अवस्थीको प्रश्न: विद्यालय पोसाकमै रहेका युवामाथि गोली किन ?


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद आकृति अवस्थीले जेनजी आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाप्रति गम्भीर प्रश्न उठाएकी छन्।

प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले कुशासन र भ्रष्टाचारविरुद्ध विद्यालय पोसाकमै सडकमा उत्रिएका युवामाथि टाउकोमा लक्षित गरी गोली चलाइएको घटनाबारे कडा आपत्ति जनाइन्। यस्तो कार्यलाई कुन राष्ट्रिय वा अन्तर्राष्ट्रिय कानुनले अनुमति दिन्छ भन्दै उनले सरकारसँग स्पष्ट जवाफ मागिन्।

“विद्यालय पोसाकमा कुशासन र भ्रष्टाचारविरुद्ध प्रदर्शनमा रहेका भाइबहिनीहरूमाथि टाउकोमा ताकेर गोली हान्ने अधिकार कुन राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले दिन्छ?” उनले प्रश्न गरिन्।

अवस्थीले नेपालको संविधान र विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूको स्मरण गर्दै ती आन्दोलनहरू जनताबाटै प्रेरित भई राज्यव्यवस्था परिवर्तनका लागि अघि बढेको उल्लेख गरिन्। उनले वर्तमान जेनजी आन्दोलनलाई विदेशी प्रभाव वा बाह्य चलखेलसँग जोड्ने प्रयासप्रति आपत्ति जनाउँदै त्यसबारे सत्यता सार्वजनिक गर्न सरकारसँग माग गरिन्।

“नेपालमा विभिन्न समयमा जनताद्वारा भएका जनआन्दोलनहरू राज्यव्यवस्था परिवर्तनका लागि प्रेरित थिए, तर कुशासन र भ्रष्टाचारविरुद्ध भएको जेनजी आन्दोलन कसरी एआई, एल्गोरिदम वा विदेशी चलखेलले भएको भन्न मिल्छ?” उनले प्रश्न उठाइन्।

प्रतिक्रिया