
महिला नेतृत्वको बलियो उपस्थिति : महासंघमा अम्बिका शर्माको दाबेदारी
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी चैत २९ र ३० गते हुने निर्वाचनका लागि एशोसिएट्सतर्फ उपाध्यक्ष पदमा ज्योत्स्ना श्रेष्ठ नेतृत्वको समूहबाट डा. अम्बिका शर्मा लामिछानेको उम्मेदवारीलाई विशेष महत्वका साथ हेरिएको छ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रस्तावित वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल निकट समूहबाट अघि सारिएको यस प्यानलमा लामिछानेको उपस्थिति व्यवसायिक तथा नीतिगत दृष्टिले निकै अर्थपूर्ण मानिएको छ।
बैंकिङ, लगानी तथा उद्यमशीलता क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव संगालेकी डा. लामिछाने वित्त कम्पनी, विकास बैंक, मर्चेन्ट बैंकिङ तथा इम्प्याक्ट इन्भेस्टमेन्ट क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरिसकेकी अनुभवी व्यवसायिक व्यक्तित्वका रूपमा परिचित छन्। निजी क्षेत्रले भोगिरहेका चुनौती, वित्तीय पहुँचका जटिलता तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा उनको प्रत्यक्ष अनुभव रहेको व्यवसायी बताउँछन्।
उनले आफ्नो उम्मेदवारीमार्फत वित्तीय पहुँच विस्तार, पूँजी बजार सुदृढीकरण, महिला उद्यमी सशक्तीकरण तथा रेमिटेन्सलाई उत्पादनमुखी क्षेत्रमा जोड्ने एजेन्डालाई प्राथमिकतामा राखेकी छन्।
उनको भनाइ छ, ‘निजी क्षेत्रलाई अझ प्रतिस्पर्धी, समावेशी र सशक्त बनाउन नीतिगत सुधार र वित्तीय पहुँच सहज बनाउनु अत्यावश्यक छ।’
एफएनसीसीआईको आगामी निर्वाचनलाई निजी क्षेत्रको नेतृत्व चयनसँगै नीतिगत दिशानिर्देशनको महत्वपूर्ण मोडका रूपमा हेरिएको बेला डा. अम्बिका शर्मा लामिछानेको उम्मेदवारीलाई निर्णायक र प्रभावशाली उपस्थितिका रूपमा लिइएको छ। व्यवसायीहरूका अनुसार उनको अनुभव, नीतिगत समझ र निजी क्षेत्रप्रतिको प्रतिबद्धताले जितको सम्भावना थप बलियो बनाएको छ।



कागजपत्र |
