
स्वस्थ्य नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता : मन्त्री मेहता
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने अधिकार रहेको बताएकी छन्।
विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री मेहताले स्वास्थ्य सेवा मात्र नभई स्वच्छ वातावरण, खाद्य सुरक्षा र उपभोक्ता अधिकारजस्ता संवैधानिक हकहरू पनि नागरिकको समग्र स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको स्पष्ट पारिन्।
उनले भनिन्, “स्वास्थ्यसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित स्वच्छ वातावरणको हक, खाद्य सुरक्षाको अधिकार र उपभोक्ताको हक पनि उत्तिकै महत्वपूर्ण छन्। यी मौलिक हकहरूको प्रभावकारी कार्यान्वयन गर्दै स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता हो।”
यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा ‘मानव, पशुपन्छी र वातावरणको हित विज्ञान र एक स्वास्थ्य, हाम्रो जित’ लाई उल्लेख गर्दै उनले स्वास्थ्यका विभिन्न पक्षबीचको अन्तरसम्बन्धलाई जोड दिइन्।
मन्त्री मेहताले नयाँ स्वास्थ्य चुनौतीहरू समाधान गर्न सरकारी तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन्। उनले भनिन्, “नयाँ स्वास्थ्य चुनौती समाधानका लागि सबै सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य छ। एक स्वास्थ्य अवधारणाको महत्वलाई आत्मसात गर्दै सरकारले सन् २०१९ मा राष्ट्रिय एक स्वास्थ्य नीति स्वीकृत गरिसकेको छ।”
उनले आगामी दिनमा विशेषगरी नसर्ने रोगहरूको नियन्त्रण र रोकथामका लागि समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता पनि व्यक्त गरिन्।



कागजपत्र |
