
पश्चिम एसियाका ८८ हजार नेपालीको तथ्यांक संकलन
काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले पश्चिम एसियामा जारी द्वन्द्वबाट प्रभावित नेपाली नागरिकहरूको तथ्यांक संकलन भइरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले हालसम्म करिब ८८ हजारभन्दा बढी नेपालीले आफ्नो नाम दर्ता गराइसकेको जानकारी दिए।
उनका अनुसार तत्काल नेपाल फर्किनुपर्ने अवस्थालाई ध्यानमा राख्दै नेपाल एयरलाइन्स र पर्यटन मन्त्रालयसँग समन्वय गरी आवश्यक सहजीकरण गरिएको छ। ‘परराष्ट्र मन्त्रालयले तथ्यांक संकलन गरिरहेको छ। अहिलेसम्म झण्डै ८८ हजारभन्दा बढी नेपालीले नाम टिपाउनुभएको छ,’ मन्त्री खनालले भने, ‘तत्काल फर्किनुपर्ने अवस्थालाई मध्यनजर गर्दै हामीले नेपाल एयरलाइन्स र पर्यटन मन्त्रालयसँग समन्वय गरेर सहजीकरण गरिसकेका छौँ।’
उनले पश्चिम एसिया क्षेत्रमा उडान व्यवस्थापनलाई सहज बनाइएको उल्लेख गर्दै दुबईमा नियमित उडान सुरु भइसकेको र साउदी अरेबियालगायतका गन्तव्यमा पनि थप उडान व्यवस्थापनको प्रयास भइरहेको जानकारी दिए।
द्वन्द्वका कारण आपूर्ति प्रणाली, रोजगारी र आर्थिक क्षेत्रमा असर परेको उल्लेख गर्दै सरकारले यसबारे अध्ययन गर्न कार्यदल गठन गरेको पनि उनले बताए।



कागजपत्र |
