
सिरहाका मेयरमाथि कर्मचारी कुटेको आरोप, मेयरको खण्डन
सिरहा- सिरहा नगरपालिकाका नगर प्रमुख नवीनकुमार यादवमाथि एक कर्मचारीमाथि कुटपिट गरेको आरोप लागेको छ। नगरपालिकामा कार्यरत कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवमाथि मेयर यादवले हातपात गरेको आरोप लागेको हो।
पीडित रामशरण यादवका अनुसार आज बिहान करिब ९ बजे लेखा शाखामा हाजिरी गर्न रजिस्टर पल्टाइरहेका बेला मेयर यादव अचानक त्यहाँ पुगेका थिए। त्यसपछि गालीगलौज गर्दै लात–मुक्काले कुटपिट गरेको उनले बताए। उनी विगत २४ वर्षदेखि नगरपालिकाको स्वास्थ्य शाखामा काजमा कार्यरत छन्।
सिरहा नगरपालिका–१५ सुकचेनाका स्थायी बासिन्दा रामशरणको दरबन्दी भने वडा नम्बर २० लगडी गदियानीस्थित स्वास्थ्य चौकीमा रहेको छ। विधिसम्मत प्रक्रिया पूरा गरेर कर्मचारीलाई सरुवा गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि आफूलाई कुटपिट गर्दै दरबन्दी भएको स्थानमा जान दबाब दिएको उनको भनाइ छ।
‘सरुवा गर्ने अधिकार उहाँहरूसँग छ। आधिकारिक रूपमा सरुवा गरेर नमान्दा कारबाही गरेको भए एउटा कुरा हुन्थ्यो,’ उनले भने, ‘तर म हाजिरी गर्न लाग्दा एक्कासी आएर दरबन्दीमा जाउ भन्दै कुटपिट गर्नुभयो।’
कुटपिटपछि घाइते भएका रामशरण यादव हाल सिरहास्थित प्रादेशिक अस्पतालमा उपचाररत छन्।
यता मेयर नवीनकुमार यादवले भने कुटपिटको आरोप अस्वीकार गरेका छन्। उनले आफूले हाजिरी गर्न रोक्दा कर्मचारी आफैं रुन र कराउन थालेको दाबी गरे।
‘मैले कुटपिट गरेको होइन। काजका कर्मचारीलाई अहिले हाजिरी नगर्न भनेको थिएँ, त्यत्तिकैमा उनी आफैं कराउन थाले,’ मेयर यादवले भने, ‘प्रहरीलाई बोलाएर अस्पताल लगिएको हो, यो सबै नाटक हो।’



कागजपत्र |
