कपिलवस्तु झडपमा घाइते युवकको मृत्यु


कपिलवस्तु- कपिलवस्तुमा दुई समुदायबीच भएको झडप नियन्त्रणमा लिने क्रममा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। महाराजगञ्ज नगरपालिका–६ भुटनियाका २२ वर्षीय जितेन्द्र यादवको सोमबार चितवन मेडिकल कलेजमा उपचारकै क्रममा ज्यान गएको हो।

गत चैत ७ गते महाराजगञ्जको वरगदा गाउँमा हिन्दु र मुस्लिम समुदायबीच भएको झडप उग्र बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। सोही क्रममा सुरक्षाकर्मीको बल प्रयोगबाट यादव घाइते भएका थिए।

मृतकका आफन्तले भने प्रहरीको गोली लागेर यादव घाइते भएको र सोही कारण उनको मृत्यु भएको दाबी गरेका छन्। तर कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले उक्त दाबी अस्वीकार गरेका छन्।

‘झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीको कारबाहीबाट उनी घाइते भएका हुन्, तर गोली लागेको होइन,’ डिएसपी सिंहले भने, ‘उनको शरीरमा गोली लागेको कुनै घाउ फेला परेको छैन।’

प्रहरीका अनुसार सो दिन दुई समूहबीचको झडपले उग्र रूप लिएपछि दिउँसो २ बजेदेखि निश्चित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञाका बाबजुद पनि बेलुकीतिर पुनः झडप चर्किएपछि सुरक्षाकर्मीले बल प्रयोग गर्दा यादव घाइते भएका थिए।

घाइते यादवलाई प्रारम्भिक उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको थियो। त्यसपछि थप उपचारका लागि चितवन मेडिकल कलेजमा रिफर गरिएकोमा सोमबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया