
इजाजतपत्रबिना वैदेशिक रोजगारीको काम नगर्न विभागको चेतावनी
काठमाडौं – वैदेशिक रोजगार विभागले इजाजतपत्र नलिएका व्यक्ति तथा संस्थालाई वैदेशिक रोजगारीसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नहुन कडा चेतावनी दिएको छ।
विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ ले अनुमतिविना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न, कामदार पठाउने प्रक्रिया अघि बढाउन, विज्ञापन गर्न, अन्तर्वार्ता लिन वा रकम संकलन गर्न पूर्णरूपमा निषेध गरेको छ।
पछिल्लो समय विभिन्न माध्यम प्रयोग गरी वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपाली नागरिकलाई ठगी गर्ने घटनामा वृद्धि भएपछि विभागले यस्तो चेतावनी जारी गरेको हो। विशेषगरी शैक्षिक परामर्श सेवा दिने कन्सल्टेन्सी, ट्राभल एजेन्सी तथा अनलाइन प्लेटफर्ममार्फत विदेश पठाइदिने भन्दै रकम असुल गर्ने र अन्तर्वार्ता लिने प्रवृत्ति बढ्दै गएको विभागले जनाएको छ।
ऐनको दफा १० अनुसार इजाजतपत्रविना वैदेशिक रोजगारीसम्बन्धी कुनै पनि कार्य गर्न नपाइने स्पष्ट व्यवस्था रहेको छ। त्यस विपरीत राहदानी संकलन गर्ने, भिजिट भिसामा विदेश पठाउने आश्वासन दिने वा ठूलो रकम असुल गर्ने कार्य गैरकानुनी हुने विभागले स्पष्ट पारेको छ। यस्ता गतिविधिमा संलग्नलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
विभागले सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै इजाजतपत्र नलिएका व्यक्ति वा संस्थालाई वैदेशिक रोजगारीका नाममा राहदानी वा रकम नदिन अनुरोध गरेको छ।
त्यस्तै, वैदेशिक रोजगारीका लागि प्रक्रिया अघि बढाउँदा सम्बन्धित म्यानपावर कम्पनीले विभागबाट पूर्वस्वीकृति लिएको/नलिएको, इजाजतपत्र कायम रहेको/नरहेको तथा कम्पनीका सञ्चालक वा कर्मचारीको विवरण विभागको वेबसाइटमार्फत अनिवार्य रूपमा जाँच गर्न पनि आग्रह गरिएको छ।
कसैले वैदेशिक रोजगारीसम्बन्धी कानुनविपरीत गतिविधि गरेको जानकारी पाए वा आफू ठगीमा परेमा प्रमाणसहित विभागमा उजुरी दिनसमेत अनुरोध गरिएको छ।



कागजपत्र |
