
संसद पक्ष–विपक्षभन्दा माथि उठ्नुपर्छ: सोविता गौतम
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा कानुनमन्त्री सोविता गौतमले यसपटकको संसद पक्ष–विपक्षको सीमाभन्दा माथि उठ्नुपर्ने आवश्यकता औंल्याएकी छिन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोल प्रसाद अर्यालको समर्थनमा धारणा राख्दै उनले संसदमा नयाँ ऊर्जा लिएर आएका सांसद र दीर्घ अनुभव बोकेका अग्रजहरूको समिश्रणले संसदलाई अझ परिपक्व र परिणाममुखी बनाउनुपर्ने बताइन् ।
उनले भनिन्, “यस पटकको संसद पक्ष र विपक्षको सिमाभन्दा माथि उठ्नुपर्छ। यो संसद जनताको मुद्दामा केन्द्रित हुनैपर्छ। समाधानमुखी र स्पष्ट रूपमा परिणाममुखी बन्न आवश्यक छ।” उनले नयाँ र पुराना अनुभवबीचको सहकार्यले संसदलाई सुदृढ बनाउन मद्दत गर्ने उल्लेख गरिन् ।
त्यस्तै, सांसद गौतमले बहस केवल बहसकै लागि मात्र सीमित रहँदा जनताको विश्वास कमजोर हुने चेतावनी दिइन्। लोकतन्त्रमा बहस र छलफल आवश्यक भए पनि त्यसको परिणाम जनताले महसुस गर्न सक्ने खालको हुनुपर्ने उनको भनाइ थियो ।
“लोकतन्त्र केवल भाषण र बहसले मात्र अघि बढ्दैन। हाम्रा बहसहरूले दिने परिणाम पनि महत्वपूर्ण हुन्छ। त्यसैले बहस अर्थपूर्ण, उत्तरदायी र परिणाममुखी हुनुपर्छ,” उनले भनिन् ।



कागजपत्र |
