
सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं : रवि लामिछाने
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले आफूहरू सिंहदरबार चलाउन नभई बदल्न आएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जनताको अपेक्षा र आक्रोशलाई सम्बोधन गर्दै काममार्फत परिणाम देखाउने प्रतिबद्धता जनाए ।
उनले भने, “हामीलाई सिंहदरबार चलाउन होइन, बदल्न जिम्मेवारी दिइएको हो । त्यो प्रक्रिया सुरु गरिसकेका छौँ । अब बोल्नेभन्दा कामले प्रमाणित गर्नुपर्छ, हामी सेकेन्ड गनेर काम गर्न थालेका छौँ ।” उनले जनताको मतादेशको गुन जिम्मेवारी पूरा गरेर तिर्ने प्रतिज्ञा पनि गरे ।
लामिछानेले सरकारको रफ्तारमा कर्मचारीतन्त्रसहित सिंगो देश अघि बढ्नुपर्ने बताए । विपक्षी दलका घोषणापत्रका सकारात्मक पक्षहरू पनि समेट्ने उल्लेख गर्दै उनले संसदमा प्रश्न सोध्ने मात्रै होइन, जवाफ दिन सक्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए ।
उनले अघिल्लो सरकारको पालामा भएका राजनीतिक नियुक्ति लिएकाहरूलाई स्वेच्छाले राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे । यसले नयाँ सरकारलाई काम गर्न सहज हुने उनको भनाइ थियो ।
साथै, उनले आफ्नो पार्टीलाई ‘हनिमुन पिरियड’ नचाहिने स्पष्ट पार्दै सुरुदेखि नै परिणाममुखी काम गर्ने बताए । “हामीलाई १०० दिन कुर्नु पर्दैन, सुरुबाटै काम गर्छौं,” उनले भने ।
लामिछानेले विगतमा दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि भएको विभेदलाई संगठित अपराधको संज्ञा दिँदै क्षमायाचना समेत व्यक्त गरे । अब जातका आधारमा कुनै पनि प्रकारको विभेद स्वीकार्य नहुने उनले बताए ।
उनले विगतमा प्रतिपक्षीमाथि गरिएको प्रतिशोधको राजनीति दोहोरिन नदिने उल्लेख गर्दै अब सहकार्य र जवाफदेहितामा आधारित राजनीतिक अभ्यास अघि बढाउने विश्वास व्यक्त गरे ।



कागजपत्र |
