पर्सा मालपोतमा करोडौं राजस्व हिनामिना, ८ जनाविरुद्ध मुद्दा


काठमाडौं  – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन चार जना मालपोत अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले राजस्व चुहावट गरी करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूप बहादुर बोगटी, पदमप्रसाद अर्याल, सुरेन्द्रप्रसाद राउत कुर्मी तथा तत्कालीन नायव सुब्बा स्व. किरणप्रसाद उपाध्यायका छोराहरू राजकिशोर, गौतम, पशुपति र मुरारीप्रसाद उपाध्यायसहितका व्यक्तिहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७०/७१ मा रजिष्ट्रेशन फाँट ‘ग’ मा वर्षभरको राजस्व आम्दानी नै दर्ता नगरेको तथा रसिदमार्फत संकलित रकम बैंक दाखिला नगरी हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

अनुसन्धानका क्रममा एउटै रजिष्ट्रेशन नम्बर प्रयोग गरी एकभन्दा बढी लिखत पारित गरिएको र कम रकम भएका लिखत मात्र लेखा फाँटमा बुझाइएको पाइएको आयोगले जनाएको छ । साथै, बढी रकम भएका लिखतहरू नदेखाई राजस्व लुकाइएको र आन्तरिक लेखापरीक्षण तथा दर्ता किताब प्रमाणित नगरी रकम हिनामिना गरिएको तथ्य फेला परेको आयोगको दाबी छ ।

आयोगका अनुसार उक्त कार्यालयको रजिष्ट्रेशन फाँट ‘ग’ बाट मात्रै कुल २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ राजस्व हिनामिना भएको पुष्टि भएको छ ।

प्रवक्ता सुरेश न्यौपानेका अनुसार मिश्रसँग ३८ लाख ८० हजार ३६८, बोगटीसँग १ करोड १० लाख ६० हजार ५२४, अर्यालसँग २१ लाख ३८ हजार १६९ र कुर्मीसँग ९९ लाख १० हजार ५१५ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

त्यस्तै, तत्कालीन नासु किरणप्रसाद उपाध्यायको निधन भइसकेकाले उनका छोराहरूबाट सम्पूर्ण बिगो बराबर २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ असुलउपर गर्ने मागदाबी लिइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया