काठमाडौंमा अब दुई पाङ्ग्रे एम्बुलेन्स


काठमाडौं-  काठमाडौं उपत्यकामा हालसम्म चार पाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनमा रहेपनि अब भने दुई पाङ्ग्रे एम्बुलेन्ससमेत सञ्चालनमा आउने तयारी गरिएको छ। अत्यधिक सवारी चाप र साँघुरा गल्लीका कारण एम्बुलेन्स समयमै नपुग्ने समस्या समाधान गर्न काठमाडौँ महानगरपालिकाले यस्तो नयाँ अवधारणा अघि बढाएको हो।

बुधबार काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवाका पदाधिकारीबीच भएको छलफलमा महानगरकी निमित्त प्रमुख सुनिता डंगोलले मोटरसाइकल एम्बुलेन्स सञ्चालनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएकी हुन्।

उनले भीडभाडयुक्त क्षेत्र तथा आकस्मिक अवस्थामा तत्काल स्वास्थ्य सेवा आवश्यक पर्ने बिरामीसम्म छिटो चिकित्सक र स्वास्थ्यकर्मी पुर्‍याउन दुई पाङ्ग्रे एम्बुलेन्स प्रभावकारी हुने बताइन्। “पुराना संरचना र साँघुरा गल्लीका कारण चार पाङ्ग्रे एम्बुलेन्स सबै ठाउँमा पुग्न सक्दैनन्, त्यसमाथि सवारी चापले थप समस्या सिर्जना गर्छ,” उनले भनिन्, “त्यसैले यस्तो अवस्थामा मोटरसाइकल एम्बुलेन्समार्फत चिकित्सकलाई तुरुन्तै घटनास्थलमा पुर्‍याउने संयन्त्र विकास गर्न आवश्यक छ।”

डंगोलले यो सेवालाई ‘प्रि–हस्पिटल मेडिकल सर्भिस’ का रूपमा अघि बढाइने स्पष्ट पारिन्। साथै, बिरामीले बोलाएको एम्बुलेन्स कहाँ पुग्यो, एम्बुलेन्समा को–को छन् भन्ने जानकारी आफन्तले सहजै थाहा पाउने प्रणाली विकास गर्न नेपाल एम्बुलेन्स सेवालाई निर्देशन दिएकी छन्।

महानगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनका लागि नेपाल एम्बुलेन्स सेवासँग २०७६ बैशाखमा नै सम्झौता गरेको थियो। त्यसयता महानगरले १३ करोड ४४ लाख रुपैयाँ अनुदान प्रदान गरिसकेको जनाएको छ। एक जना बिरामीको सेवामा औसत ६ हजार ६०५ रुपैयाँ खर्च हुने र उक्त खर्च महानगरले व्यहोर्दै आएको जानकारी दिइएको छ।

 

प्रतिक्रिया