वैदेशिक रोजगार अभिमुखीकरण शुल्क ७ सय नै कायम, बढी लिन पाइँदैन: विभाग


काठमाडौं-  वैदेशिक रोजगार विभागले रोजगारीका लागि विदेश जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ। विभागले जारी गरेको सूचनामा प्रति प्रशिक्षार्थी तालिम शुल्क ७ सय रुपैयाँ नै कायम रहेको जनाएको हो।

पछिल्लो समय केही अभिमुखीकरण प्रदायक संस्थाहरूले २ हजार १ सय रुपैयाँसम्म शुल्क लिएको गुनासो आएपछि विभागले तोकिएकोभन्दा बढी शुल्क नलिन आग्रह गरेको छ। साथै, बढी शुल्क लिएको पाइएमा उजुरी गर्न समेत सर्वसाधारणलाई अनुरोध गरिएको छ।

विभागका अनुसार अभिमुखीकरण तालिम अनिवार्य रूपमा दुई दिन सञ्चालन हुनुपर्छ र सो अवधिको कुल शुल्क ७ सय रुपैयाँमै सीमित रहनेछ। २०८१ असोज १३ गते जारी गरिएको प्रेस विज्ञप्तिअनुसार पनि यही शुल्क कायम रहेको स्पष्ट पारिएको छ।

विभागले तोकिएको शुल्कभन्दा बढी रकम असुल्ने संस्थाको इजाजत पत्र स्वतः रद्द गरिने चेतावनी दिएको छ। वैदेशिक रोजगार ऐन, २०६४ तथा सम्बन्धित कार्यविधिअनुसार तालिमका सबै मापदण्ड लागू हुने र मान्यता प्राप्त संस्थाहरूले तोकिएको शुल्क मात्र लिनुपर्ने विभागले जनाएको छ।

प्रतिक्रिया